आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता


काठमाडौं, वैशाख २५ । पूर्वमाओवादी नेता सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साम्पाङ र किरातीबीच बिहीबार राति ललितपुरमा भएको सहमति अनुसार एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने गरी किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । त्यसका लागि आज दिउँसो तीन बजे बागबजारको हार्दिक होटलमा एकता घोषणा कार्यक्रम राखिएको छ ।

किराती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका थिए ।

माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।