स्ट्रेट अफ होर्मुज खुलाउने प्रस्तावमा चीन–रुसको प्रतिक्रिया कस्तो ?


न्यूयोर्क । स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमन सहज बनाउन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ल्याउन लागिएको प्रस्तावमा चीन र रुसले भिटो लगाउने संकेत गरेका छन् ।

अमेरिका र बहराइनको नेतृत्वमा खाडी सहयोग परिषद् (जीसीसी) राष्ट्रहरूले समर्थन गरेको उक्त प्रस्तावमा समुद्री मार्गमा स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्ने विषय समेटिएको छ ।

कूटनीतिक स्रोतहरूका अनुसार, प्रस्तावको हालको मस्यौदामा अप्रत्यक्ष रूपमा इरानमाथि दबाब र प्रतिबन्धको संकेत गरिएको भन्दै चीन र रुस असन्तुष्ट बनेका हुन् । उनीहरूले युद्धको परिस्थिति सिर्जना गर्न अमेरिका र इजरायलको भूमिकालाई स्पष्ट रूपमा उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

‘अहिलेको स्वरूपमा प्रस्ताव मतदानमा गए भिटो हुनेछ,’ कूटनीतिक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रस्ताव सुरक्षा परिषद्मा कहिले मतदानका लागि प्रस्तुत हुन्छ भन्ने अझै स्पष्ट छैन । यद्यपि हप्ताको सुरुतिर यसमाथि मतदान हुन सक्ने अनुमान गरिएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वको महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिन्छ । यहाँ तनाव बढेपछि अन्तर्राष्ट्रिय तेल आपूर्ति र व्यापारमा असर पर्ने चिन्ता बढ्दै गएको छ ।एजेन्सी