११ वर्षीया बालिकामाथि यौन शोषण गरेको अभियोगमा बौद्ध भिक्षु पक्राउ


कोलम्बो । श्रीलंकामा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको गम्भीर अभियोगमा एकजना वरिष्ठ बौद्ध भिक्षु पक्राउ परेका छन्। 

७१ वर्षीय पालेगामा हेमारथनालाई शनिबार राजधानी कोलम्बोस्थित एक निजी अस्पतालबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनीविरुद्ध आपराधिक अनुसन्धान सुरु भएपछि उपचारका लागि भन्दै अस्पताल भर्ना भएको अवस्थामा हिरासतमा लिइएको हो।

हेमारथनामाथि सन् २०२२ मा अनुराधापुराको एक अत्यन्तै पुजनीय मानिने मन्दिरभित्र बालिकामाथि यौन शोषण गरेको आरोप लागेको छ। यस घटनामा भिक्षुलाई सहयोग गरेको र उकासेको अभियोगमा पीडित बालिकाकी आमालाई समेत प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार जारी गरेको विज्ञप्तिमा यस सम्बन्धमा मजिस्ट्रेटको निर्देशनअनुसार थप कानुनी कारबाही अगाडि बढाइने उल्लेख छ।

विदेशी भ्रमणमा समेत प्रतिबन्ध लगाइएका हेमारथनालाई अनुराधापुराका मुख्य मजिस्ट्रेटको आदेशमा पक्राउ गरिएको हो। बाल संरक्षण अधिकारीहरूले भिक्षुलाई पक्राउ गर्न ढिलाइ भएको भन्दै उजुरी गरेपछि अदालतले प्रहरीलाई उनलाई बिना ढिलाइ नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो। 

श्रीलंकामा यसअघि पनि धर्मगुरुहरूबाट बालबालिकामाथि दुर्व्यवहार भएका घटनाहरू सार्वजनिक हुने गरे तापनि यति वरिष्ठ तहका भिक्षु पक्राउ परेको यो पहिलो र उच्चस्तरको घटना हो।

श्रीलंकाका धार्मिक नेताहरू पछिल्लो समय विभिन्न विवाद र अपराधमा मुछिँदै गएका छन्। गत महिना मात्रै कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट ११० किलो गाँजासहित २२ जना भिक्षुहरू पक्राउ परेका थिए। 

Nabil bank
Arghakhachi Cement