दाङ, २६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै उपाध्यक्ष शर्माले बहुमतप्राप्त नयाँ सरकार गठन भएसँगै निजी क्षेत्रमा नयाँ आशा पलाएको उल्लेख गर्नुभयो ।
उहाँले तुलसीपुर क्षेत्र आर्थिक दृष्टिकोणले ठूलो सम्भावना बोकेको सहर भएको बताउँदै यहाँको विकासका लागि व्यवसायीहरू उत्साहित हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले निजी क्षेत्र सफल भए मात्रै देश सफल हुने धारणा राख्नुभयो ।
उहाँले उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन विद्यमान ऐन कानुन बाधक रहेको औंल्याउँदै तीनै तहका सरकारले उद्योगमैत्री नीति बनाउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले व्यवसायीहरूले पटक–पटक विभिन्न आन्दोलनको मार खेप्नुपरेको गुनासो गर्नुभयो । ‘
निजी क्षेत्र कर बुझाउन सधैं तयार छ, तर सरकारले व्यवसाय गर्ने वातावरण निर्माण गरिदिनुपर्छ ।’ श्रेष्ठले भन्नुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले पछिल्लो समय देखिएको विषम परिस्थितिका बिच उद्योगी व्यवसायीले नाफामूखीभन्दा पनि सेवामुखी भावका साथ व्यवसाय संचालन गरिरहेको बताउनुभयो ।
अब पनि राज्यले उद्योगी व्यवसायीको संरक्षण र संवद्र्धनमा विषेध ध्यान नदिने हो भने भोलिका दिनमा अर्थतन्त्र झनै संकटमा पर्ने उहाँको भनाई छ ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले व्यवसायीहरूले करको दायरा र यसको महत्वबारे सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवसायीले पनि राज्यलाई बुझाउनुपर्ने कर समयमै बुझाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संचार,ब्यबसायि र उधमिहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत र सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा महासचिव केशवराज केसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । साधारणसभामा स्थानीय उद्योगी, व्यवसायी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।




प्रतिक्रिया