ब्रसेल्स । घातक हान्टाभाइरसको संक्रमण फैलिएको क्रुज जहाज एमभी होन्डियसका सबै यात्रुलाई सावधानीस्वरूप उच्च जोखिम सम्पर्कका रूपमा वर्गीकृत गरिएको छ ।
युरोपेली रोग रोकथाम र नियन्त्रण केन्द्र (ईसीडीसी)ले शनिबार वैज्ञानिक परामर्श जारी गर्दै यस्तो जनाएको हो । लक्षण नदेखिएका यात्रुहरूलाई नियमित व्यावसायिक उडानमार्फत नभएर विशेष व्यवस्था गरिएको यातायातमार्फत आफ्ना–आफ्ना देशमा फर्काइने र त्यहाँ उनीहरूलाई स्व–क्वारेन्टिनमा राखिने बताइएको छ ।
देशहरूले आफ्ना नागरिकलाई उद्धार गर्ने तयारी गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हालसम्म आठ जना बिरामी परेका छन्, जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।
मृतकमध्ये एक डच दम्पती र एक जर्मन नागरिक रहेका छन् । संक्रमितमध्ये छ जनामा भाइरस पुष्टि भएको छ भने अन्य दुई जनामा संक्रमणको आशंका गरिएको छ । ईसीडीसीका अनुसार जहाजबाट ओर्लिने बेला सबै यात्रुलाई उच्च जोखिममा राखिए पनि आफ्ना देश फर्किएपछि सबैलाई समान रूपमा उच्च जोखिममा राखिने आवश्यक नहुन सक्छ ।
लक्षण देखिएका यात्रुहरूलाई प्राथमिकताका साथ स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्न आग्रह गरेको छ । उनीहरूलाई अवस्थाअनुसार टेनेरिफमै आइसोलेसनमा राख्न वा चिकित्सकीय निगरानीसहित आफ्नै देश पठाउन सकिने जनाइएको छ ।
सामान्यतया हान्टाभाइरस मुसाजस्ता जनावरबाट फैलिने गर्छ । तर दुर्लभ अवस्थामा यो मानिसबाट मानिसमा पनि सर्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यद्यपि, यसको व्यापक संक्रमण फैलिने जोखिम भने कम रहेको बताइएको छ ।




प्रतिक्रिया