केप टाउन । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफूविरुद्ध अघि बढ्न सक्ने महाभियोग प्रक्रियालाई कानुनी रूपमा चुनौती दिने बताएका छन् । निजी गेम फार्मबाट ठूलो रकम चोरी भएको घटनासम्बन्धी प्रतिवेदनपछि संसदमा उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढ्ने सम्भावना छ ।
दक्षिण अफ्रिकाको संवैधानिक अदालतले सन् २०२२ मा संसदले रामाफोसाविरुद्ध महाभियोग छानबिन समिति गठन नगर्ने निर्णय असंवैधानिक ठहर गरेपछि विवाद फेरि चर्किएको छ । सोमबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै रामाफोसाले राजीनामा नदिने स्पष्ट पार्दै “म अझै यहीँ छु” भनेका थिए ।
यो विवाद चर्चित “फाला फाला” काण्डसँग जोडिएको छ । उक्त घटनामा रामाफोसाको गेम फार्ममा रहेको फर्निचरभित्रबाट हजारौं डलर चोरी भएको बताइएको थियो । स्वतन्त्र प्यानलले घटनालाई उनले सम्हालेको तरिकामा गम्भीर दुराचार भएको हुन सक्ने प्रारम्भिक प्रमाण रहेको निष्कर्ष निकालेको थियो ।
रामाफोसाले भने आफूले कुनै गलत काम नगरेको दाबी गरेका छन् । उनका अनुसार उक्त रकम भैंसी बिक्रीबाट आएको वैध आम्दानी थियो ।
अदालतले घटनामाथि संसदमार्फत थप छानबिन हुनुपर्ने उल्लेख गरेपछि रामाफोसाले प्रतिवेदन अनुमानका आधारमा तयार गरिएको भन्दै त्यसको पुनरावलोकनका लागि अदालत जाने तयारी गरेका छन् । महाभियोग प्रक्रिया अघि बढेमा विपक्षी दलहरूले यही प्रतिवेदनलाई उनलाई पदबाट हटाउने मुख्य आधार बनाउन सक्ने देखिएको छ ।
राजनीतिक विश्लेषक प्राध्यापक रिचार्ड क्याल्यान्डका अनुसार रामाफोसा संसदमा हुने मतदानबाट जोगिन सक्ने अवस्थामा भए पनि सार्वजनिक महाभियोग सुनुवाइले उनको राजनीतिक छवि र विरासतमा असर पार्न सक्ने भएकाले कानुनी बाटो रोजिएको हुन सक्छ ।एजेन्सी




प्रतिक्रिया