बुटवल, वैशाख ३० । लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र तथा प्रवेशद्वारका रूपमा परिचित बुटवलमा छाडा चौपायाको समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ । विशेषगरी मुख्य राजमार्ग, बजार क्षेत्र र फुटपाथमा ठूला साँढेहरू निर्धक्क रूपमा हिँडडुल गर्न थालेपछि पैदलयात्री, व्यवसायी तथा सवारी चालकहरू त्रसित बनेका छन् ।
व्यस्त सडकमा बढ्दो सवारी चापसँगै यस्ता छाडा पशुको उपस्थिति दुर्घटनाको कारण बन्दै गएको छ । बुटवलको मुख्य सडक र फुटपाथमा विशाल सिङ भएका साँढेहरू आरामसँग बस्ने र हिँड्ने दृश्य अहिले सामान्यजस्तै बनेको छ । फुटपाथ अवरुद्ध हुँदा सर्वसाधारण सडकबाटै हिँड्न बाध्य छन्, जसले दुर्घटनाको जोखिम झन् बढाएको छ ।
स्थानीयका अनुसार बालबालिका, वृद्धवृद्धा तथा महिलाहरू यस्ता चौपायाबाट सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन् । रातिको समयमा सडकबीचमै चौपाया बस्ने गरेका कारण मोटरसाइकल तथा अन्य सवारी साधन दुर्घटनामा पर्ने घटना पनि बढ्दै गएको छ ।
स्थानीय व्यवसायीहरूका अनुसार नगरपालिकाले पटक–पटक व्यवस्थापनको आश्वासन दिए पनि समस्या समाधान हुन सकेको छैन । “सडकमा हिँड्दा कतिबेला साँढेले आक्रमण गर्छ भन्ने डर भइरहन्छ,” एक व्यवसायीले गुनासो गरे । “मुख्य बजारमै यस्तो अवस्था हुँदा नागरिक असुरक्षित महसुस गरिरहेका छन्,” उनले भने ।
बुटवल उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि कान्जीहाउस सञ्चालन, नियन्त्रण अभियान तथा उद्धार कार्यक्रम सञ्चालन गरेको दाबी गरे पनि त्यसको प्रभाव दीर्घकालीन रूपमा देखिन सकेको छैन । छिमेकी स्थानीय तहबाट रातारात पशु ल्याएर सडकमा छाड्ने प्रवृत्तिले समस्या थप जटिल बनेको स्थानीयको आरोप छ ।
“क्लिन र ग्रिन सिटी” को नारा बोकेको बुटवलमा सडक र फुटपाथमै साँढेको बिगबिगी देखिनु सहर व्यवस्थापनमाथि गम्भीर प्रश्न बनेको छ । समस्या नियन्त्रणका नाममा ठूलो रकम खर्च गरिए पनि अहिले पुनः उस्तै अवस्था देखिनुले नागरिकस्तरबाट जवाफदेहिताको प्रश्न उठ्न थालेको छ ।
स्थानीयवासीले छाडा चौपाया नियन्त्रणमा स्थायी नीति, प्रभावकारी अनुगमन र जिम्मेवार निकायबीच समन्वयको अभाव रहेको बताएका छन् । सर्वसाधारणको सुरक्षा, सडक अनुशासन र सहरको सौन्दर्य जोगाउन सम्बन्धित निकायले तत्काल ठोस र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।




प्रतिक्रिया