सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ : बुर्लाकोटी


काठमाडौँ, ३० वैशाख । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गराएका छन्

त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीअनुसार नै सदनलाई सञ्चालन हुन दिनुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विपक्षी दलका सांसदहरूले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध जनाएपछि बुर्लाकोटीले सदनको कारबाही नियमित रूपमा सञ्चालन हुनुपर्ने बताए । उनले कुनै पनि बहानामा सदनको कारबाही रोकिन नहुने धारणा राखे।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै अवरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गरे । उनले प्रधानमन्त्रीको तर्फबाट मन्त्रीलाई जिम्मेवारी तोकेर पठाइसकेको जानकारी गराउँदै आशन ग्रहण गरेर सहयोग गर्न अनुरोध गरे ।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरे ।

नेकपा(एमाले)का सांसद गुरु बरालले ‘असंसदीय शब्द’को छानबिनका लागि समिति बनाउन माग गरे । यस्तै, सोही दलका सांसद पद्या अर्यालले सदनमा प्रधानमन्त्रीको उपस्थिती हुनुपर्ने धारणा राखिन् । रासस