चीन आइपुगे ट्रम्प, उपराष्ट्रपतिले गरे स्वागत


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ बेइजिङ ओर्लिएका छन्। एयर फोर्स वानबाट ओर्लिएका ट्रम्पलाई चीनले निकै तामझाम र सम्मानका साथ स्वागत गरेको हो।

यो दुई दिने भ्रमणका क्रममा विश्वका दुई महाशक्ति राष्ट्रबिच व्यापारिक भन्सार, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसँगको सम्बन्धका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

सन् २०१७ को अघिल्लो भ्रमणको तुलनामा यसपटक ट्रम्पले अझ बढी शक्तिशाली र दृढ चीनको सामना गर्दैछन्। अर्कोतर्फ, पश्चिम एसियामा जारी सैन्य अभियानका कारण ट्रम्प आफैँ पनि दबाबमा छन्। वास्तवमा यो भ्रमण गत मार्चमै हुने तय भएको थियो, तर अमेरिका र इजरायलको इरानसँगको युद्धका कारण भ्रमण पछाडि सरेको हो। उक्त युद्धले अहिले पनि विश्व अर्थतन्त्रलाई प्रभावित बनाइरहेको छ।

विगतमा तल्लो तहका नेताले स्वागत गरेकोमा यसपटक चीनले ट्रम्पको सम्मानमा उपराष्ट्रपति हान झेङलाई नै विमानस्थल पठाएको छ। यसलाई बेइजिङले अमेरिकाप्रति देखाएको उच्च सम्मानको रूपमा हेरिएको छ। विमानस्थलको रातो कार्पेटमा ट्रम्पका छोरा एरिक ट्रम्पका साथै टेस्लाका एलन मस्क र एनभिडियाका जेन्सेन हुवाङ जस्ता अमेरिकी प्रविधिका हस्तीहरूको पनि उपस्थिति रहेको थियो।

ट्रम्पले अवतरण गर्नुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनको बजार थप खुला गर्न आग्रह गर्ने बताएका छन्। यी प्रभावशाली व्यवसायीहरूले चीनमा काम गर्ने वातावरण पाएमा जनवादी गणतन्त्र चीनलाई अझ उच्च स्तरमा पुर्‍याउन मद्दत पुग्ने दाबी ट्रम्पको छ। सीसँगको भेटमा आफ्नो पहिलो माग नै यही हुने उनले प्रस्ट पारेका छन्।

भेटवार्तामा इरान युद्धको विषय सबैभन्दा टड्कारो बन्ने देखिएको छ। चीन आफ्नो तेल आयातका लागि इरानमाथि निर्भर छ, तर स्ट्रेट अफ होर्मुजमा अवरोध भएपछि आपूर्ति ठप्प प्रायः भएको छ। अमेरिकाले इरानमाथि आफ्नो राजनीतिक र आर्थिक प्रभाव प्रयोग गर्न चीनलाई दबाब दिइरहेको छ, जबकि बेइजिङ र तेहरानबिच दशकौँ लामो मित्रता र व्यापारिक साझेदारी छ।

बैठकमा ताइवानको मुद्दाले पनि तनाव बढाउन सक्छ। ट्रम्प प्रशासनले ताइवानलाई ठुलो मात्रामा हतियार बेच्ने निर्णय गरे पनि चिनियाँ आक्रमणको अवस्थामा रक्षा गर्ने विषयमा भने अस्पष्ट नीति लिँदै आएको छ।
व्यापारका सवालमा ट्रम्पले अमेरिकी कृषि उपजको खरिद बढाउन दबाब दिनेछन् भने चीनले अमेरिकी भन्सार दर घटाउन जोड दिने अपेक्षा गरिएको छ।