आज पनि प्रधानमन्त्री सदनमा उपस्थित नभए पुनः अवरोध गर्ने विपक्षीको तयारी


काठमाडौं, वैशाख ३१ । प्रति प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने कार्यसूची रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसयता सदनमा सरकारका प्राथमिकता, आर्थिक दिशा र कार्यान्वयन क्षमतामाथि सत्तापक्ष–प्रतिपक्षबीच तीव्र बहस चलिरहेको छ।

बुधबारको प्रतिनिधिसभा बैठक भने नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेन स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान लिएपछि बैठक प्रभावित बनेको हो। आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ, तर त्यसअघि प्रधानमन्त्रीको उपस्थिति हुने वा नहुने विषय नै संसद्को मुख्य चासो बनेको छ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह स्वयं उपस्थित भएर नीति तथा कार्यक्रमबारे स्पष्ट जवाफ दिनुपर्ने माग राखेका छन्। बुधबार सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जवाफ दिन पुगेका थिए, तर विपक्षी सांसदहरूले प्रधानमन्त्रीकै जवाफ आवश्यक रहेको भन्दै विरोध जनाएका थिए। त्यसपछि बैठक अवरुद्ध हुँदै स्थगित भएको थियो। आज पनि प्रधानमन्त्री उपस्थित नभए सदन पुनः अवरोधतर्फ जान सक्ने संकेत देखिएको छ।