मुख्यमन्त्री शाहको दौडधुप : ओली पछि थापासँग भेटवार्ता, अब गगन थापा र केपी ओलीबीच निर्णायक छलफल हुने


काठमाडौं, जेठ १ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी सभापति गगन थापालाई भेटेका छन् । विहिबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डुमा पुगेका मुख्यमन्त्री शाह ओलीसँग भएका संवाद र सन्देश लिएर पार्टी सभापतिलाई भेट्न गएका हुन्। । उनीहरूबीच कांग्रेस पार्टी कार्यालय सानेपामा करिब ३० मिनेटभन्दा बढी समय छलफल भएको स्रोतले जनाएको छ ।

छलफलमा ओलीको स्वास्थ्य अवस्था, कांग्रेस-एमालेको सहकार्य, सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनको अवस्था र आगामी कार्यदिशाबारे कुरा भएको जनाइएको छ। त्यस्तै, प्रतिपक्षी दलहरू कांग्रेस र नेकपासँग सहकार्य गरेर अघि बढ्ने विषयमा मुख्यमन्त्री शाह र एमाले अध्यक्ष ओलीबीच कुरा भएको विषयमा समेत सभापति थापालाई जानकारी गराइएको छ ।

‘मुख्यमन्त्री शाहले प्रदेशको राजधानी कार्यान्वयनमा भइरहेको समस्याबारे पार्टी सभापतिज्यूलाई जानकारी गराउनुभएको थियो,’ स्रोतले भन्यो, ‘हिजो एमाले अध्यक्षज्यूसँग भएको कुराको विषयमा आज सभापतिज्यूसँग कुरा भयो ।’ एमाले अध्यक्ष ओलीले कांग्रेस, एमाले र नेकपाबीच सत्ता सहकार्यको विषयमा मुख्यमन्त्री शाहसँग संवाद गरेका थिए । त्यस विषयमा अब सभापति गगन थापा र अध्यक्ष ओलीबीच निर्णायक छलफल हुने भएको छ ।

केही दिनभित्र गगन थापा र केपी ओलीबीच भेटघाट हुने र त्यसपछि सत्ता सहकार्यको टुंगो लाग्ने भएको छ । उता नेपाली कम्युनिष्ट पार्टीले पनि एमालेसँग सहकार्यको संवाद चलाइरहेको छ । यसअघि सभापति थापाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा विकसित घटनाक्रमबारे छलफल गरेका थिए । सरकारसँग असन्तुष्ट र मन्त्री हुन नपाएका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री शाहलाई पदबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।

गत शुक्रबार भएको प्रदेशस्तरीय भेलापछि सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरु घिमिरेसहितका नेतालाई राखेर प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरूसँग सघन छलफल गरेका थिए। अबेर रातिसम्म चलेको उक्त छलफलमा असन्तुष्ट प्रदेश सभा सदस्यहरूले सभापति थापालाई खुलेर आफ्ना कुरा राखेका थिए भने उनीहरूले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै तत्काल सरकार पुर्नगठन गर्नुपर्ने माग गरेका थिए ।

छलफलको सुरूमा मुख्यमन्त्री शाह र विद्यायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्टबीच नोकझोक नै चलेको थियो । बिष्टले शाहले थापालाई पार्टी सभापति नमान्ने भन्दै आफूले पनि दलको नेता स्वीकार नगर्ने बताएका थिए । त्यसपछि उनीहरूबीच नोकझोक चलेको थियो ।