ताइवानलाई स्वतन्त्र भएको घोषणा नगर्न ट्रम्पको चेतावनी


काठमाडौं, जेठ २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले औपचारिक रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई चेतावनी दिएका छन् । बेइजिङमा आफ्ना चिनियाँ समकक्षी सी जिन्पिङसँगको दुई दिने शिखर बैठकको समापनका क्रममा शुक्रवार फक्स न्यूजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘म कसैले स्वतन्त्र भएको घोषणा गरेको हेर्न चाहन्नँ।’

ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेकोले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको ताइवानका राष्ट्रपति लाई चिङ–तेले पहिले नै भनिसकेका छन्।

संयुक्त राज्य अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ, जसमा ताइवानलाई आत्मरक्षाका निम्ति सघाउनु कानुनी रूपमा बाध्य रहेको पनि समावेश छ । तर प्रायः चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेर यो गठबन्धनलाई वाशिङ्टनले सन्तुलनमा राख्नु परेको छ । यसअघि ट्रम्पले आफूले उक्त स्वशासित टापुका बारेमा ‘कुनै प्रतिबद्धता नजनाएको’ बताएका थिए। चीनले ताइवानलाई आफ्नो हिस्साका रूपमा दाबी गर्ने गरेको छ र आवश्यक परे बल प्रयोग गरेर कब्जा गर्ने कुरालाई उसले अस्वीकार गर्दैन।

वाशिङ्टनको स्थापित अडान भनेको उसले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्दैन र बेइजिङसँग उसको निरन्तरको सम्बन्ध एउटा मात्र चिनियाँ सरकार रहेको स्वीकार गर्ने कुरामा निर्भर छ । बेइजिङले ताइवानका राष्ट्रपतिको खुलेर आलोचना गर्ने गरेको छ। यसअघि उसले ताइवानका राष्ट्रपतिलाई ‘समस्याकारी’ र ‘शान्ति खलबल्याउने’ व्यक्तिको सङ्ज्ञा दिएको थियो।

ताइवानका धेरै बासिन्दाले आफूलाई एउटा अलग राष्ट्रका हिस्साका रूपमा हेर्ने गरेका छन्। तथापि अधिकांशले यथास्थितिलाई समर्थन गर्छन्, जसमा ताइवानले न त स्वतन्त्रता घोषणा गर्छ, न त चीनसँग एकता गर्छ। फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले ताइवान मामिलामा अमेरिकी नीतिमा कुनै परिवर्तन नआएको दोहोर्याए। ‘तपाईँलाई थाहा छ युद्ध लड्नका निम्ति हामीले ९,५०० माइल (१५,२८९ किलोमिटर) यात्रा तय गर्नुपर्छ। म त्यो चाहन्नँ। म चाहन्छु कि उनीहरू शान्त होऊन्। म चाहन्छु कि चीन शान्त रहोस्।’