क्यान्सर पीडित खेलाडी सनमलाई एक लाख सहयोग गर्ने पत्रकार ऋषि धमलाको घोषणा



काठमाडौं । वरिष्ठ पत्रकार ऋषि धमलाले बोन म्यारो क्यान्सरबाट पीडित मोरङको उर्लाबारी–३ निवासी २० वर्षीय सनम विश्वकर्माको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै धमलाले सनमको उपचारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।


विगत केही महिनादेखि बोन म्यारो क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेका सनमलाई बचाउन स्थानीयस्तरमा सुरु गरिएको सहयोग अभियानले अहिले तीव्रता पाएको छ ।

कमजोर आर्थिक अवस्थाबीच हुर्किएका सनमका बुवा दैनिक ज्यालादारी गर्दै राजमिस्त्रीको काम गर्छन् । दैनिक कमाइले घरखर्च चलाउनै कठिन भइरहेका बेला छोराको महँगो उपचार परिवारका लागि असम्भवजस्तै बनेको छ । सुरुमा आफन्त र छिमेकीसँग सहयोग संकलन गरेर गरिएको स्वास्थ्य परीक्षणपछि सनमलाई बोन म्यारो क्यान्सर भएको पुष्टि भएको परिवारले जनाएको छ ।




चिकित्सकका अनुसार सनमको ज्यान बचाउन बोन म्यारो ट्रान्सप्लान्ट आवश्यक रहेको छ । त्यसका लागि करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । आर्थिक अवस्था कमजोर भएकाले परिवारले सबैसँग सहयोगको अपिल गरिरहेको छ ।


धमलाले कठिन परिस्थितिमा रहेका सनमलाई बचाउन सबै क्षेत्रबाट सहयोग जुट्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मानवीय सहयोगमा साथ दिन अपिल समेत गरेका छन् ।