कैलाश मानसरोवर यात्रा सुरुः हुम्लामा भारतीय धार्मिक पर्यटकको चहलपहल बाक्लो


हुम्ला । वर्षायामको सुरुआतसँगै पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनको सिजन पनि सुरु भएको छ । जेठ लागे (मे महिना) सँगै धार्मिक यात्रा सुचारु भएपछि हुम्लाको सिमकोटमा भारतीय धार्मिक पर्यटकको चहलपहल निकै बाक्लो देखिन थालेको छ ।

चीनको तिब्बतमा रहेको मानसरोवर र कैलाश पर्वत पुग्नका लागि हुम्लाको सिमकोट मुख्य ट्रान्जिट विन्दु मानिन्छ । सिजन सुरु भएलगत्तै तीर्थयात्रीहरू नेपालगन्ज हुँदै हवाईमार्गबाट हुम्लाको सिमकोट पुग्ने र त्यहाँबाट हिल्सा हुँदै चीनको मानसरोवरतर्फ प्रस्थान गर्ने गर्दछन् ।

मानसरोवर कैलाशको दर्शन गर्न पर्यटकहरू आउन सुरु भएको चार दिन भएको छ । धार्मिक यात्रा शुरु भएको चार दिनमा १६९ जना तीर्थयात्री हुम्ला आइपुगेका छन् ।

तीमध्ये भारतीय तीर्थयात्रुको संख्या बढी छ । हुम्लामा हाल मौसम प्रतिकूल रहँदै आएको छ । तर, मौसमको चुनौतीका बाबजुद एयरलाइन्सहरूले धार्मिक पर्यटक ओसार्न सक्रियता देखाएका छन् ।


यसैबीच, भारतीय धार्मिक पर्यटकको आगमनले हुम्लाको स्थानीय बजारलाई चलायमान बनाएको छ । सिमकोटमा रहेका होटल, लज र रेस्टुरेन्टहरूको बुकिङ बढेको छ भने व्यवसाय फस्टाउन थालेको छ । पर्यटकहरू सिमकोटमा रोकिँदा स्थानीय होटल व्यवसायीहरूलाई प्रत्यक्ष फाइदा पुग्छ ।

यसका साथै स्थानीय गाडी र खच्चड व्यवसायी, पदमार्गका व्यवसायी तथा स्थानीय कृषि उपज र हस्तकला सामग्रीको बिक्री वितरण बढेको छ ।