मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग


काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता केसीले राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेका प्रतिवेदनहरू सार्वजनिक नगरेर सरकारले संसद् र जनतालाई ढाँट्ने काम गरेको आरोप लगाएका छन्।

मानवअधिकार आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन अहिलेसम्म गुपचुप राखिएको प्रति आपत्ति जनाउँदै उनले प्रश्न गरे, ‘हिंसात्मक घटनाको छानबिन गर्न माननीय लिली थापाको संयोजकत्वमा बनेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको हो ? त्यसको जवाफ संसद्ले पाउनुपर्छ।’

सांसद केसीले भदौ २४ गतेको भयावह स्थितिको स्मरण गर्दै त्यतिबेला राज्य संयन्त्र पूर्णतः असफल भएको टिप्पणी गरे।

उनले घटनाको छानबिनका लागि गठित पूर्वअन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनसमेत अझै औपचारिक रूपमा सार्वजनिक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारले महत्त्वपूर्ण प्रतिवेदनहरू लुकाएर दोषीहरूलाई उन्मुक्ति दिन खोजेको उनको आरोप छ।