काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक र विभिन्न नीतिगत विषयमा काम गर्नका लागि १२ वटा उपसमिति गठन गरेको छ । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले उक्त समिति गठन गरेको हो ।
प्रतिष्ठानको बैठकले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधारलगायतका क्षेत्रमा अध्ययन, संवाद र अभियान सञ्चालन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले विभिन्न विषयगत उपसमितिका संयोजकहरुसमेत तोकेको छ ।
कांग्रेसले दिएको जानकारीअनुसार भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजकमा डा. गोपाल दहित, विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा, मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिमा मोहना अन्सारी तथा सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिको जिम्मेवारी इन्जिनियर दीपेश विष्टलाई दिइएको छ ।
यसैगरी, निर्वाचन प्रणाली सुधार उपसमितिको संयोजकमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा इन्जिनियर अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य तथा शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमितिको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेललाई दिइएको छ । यस्तै, बीपी ज्ञान केन्द्र उपसमितिको संयोजकको जिम्मेवारी प्रकाश लामिछानेलाई दिइएको छ ।




प्रतिक्रिया