दैलेख पेट्रोलियम उत्खनन तत्काल थाल्न कांग्रेसको दबाब


काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नेपालकै आर्थिक रूपान्तरण गर्न सक्ने क्षमता बोकेको दैलेख पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । रफत सञ्चार क्लबमा आयोजित अन्तरसंवाद कार्यक्रममा थापाले राष्ट्रिय गौरवको यो आयोजनाप्रति सरकार उदासीन देखिएको आरोप लगाइन् ।

उनले सरकारलाई तत्काल विशेष योजना बनाएर नीतिगत र व्यावहारिक सहजतासहित उत्खनन कार्यलाई तीव्र गतिमा अघि बढाउन माग गरिन् ।
प्रमुख सचेतक थापाले सुर्खेत–दैलेख सडक खण्डको दयनीय भौतिक अवस्थाका कारण खानी उत्खननको काम प्रत्यक्ष प्रभावित भएको बताइन् । यातायातको सहज पहुँच नहुँदा उत्खननका लागि आवश्यक पर्ने ठूला मेसिन र उपकरण ढुवानी गर्न सडक नै मुख्य बाधक बनेको उनको भनाइ छ ।
यस्तै, थापाले पहुँच मार्गको स्तरोन्नतिलाई परियोजना अघि बढाउने पहिलो सर्तका रूपमा अघि सार्दै भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
अन्तरसंवादका क्रममा थापाले संसद् बैठकहरूमा प्रधानमन्त्री बालेन्द्र शाहको लगातारको अनुपस्थितिलाई लिएर कडा प्रश्न उठाइन् । जनप्रतिनिधिले संसद्‌मा देशका समसामयिक र गम्भीर मुद्दाहरू उठाइरहँदा पनि कार्यकारी प्रमुखले प्रत्यक्ष जवाफ नदिनु संवैधानिक जिम्मेवारी र संसदीय मर्यादाविपरीत भएको उनको टिप्पणी छ ।
यसैबीच, प्रमुख सचेतक थापाले संसद् र सडक दुवै ठाउँबाट कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेलिरहेको दाबी गरेकी छन् ।