पोखरा । पोखरा महानगरपालिकाले पृथ्वी राजमार्गको मापदण्ड मिचेर निर्माण गरिएका अमरसिंह चोकका ५१ वटा अतिक्रमित व्यावसायिक टहराहरू भत्काएको छ । लामो समयदेखि सडकको क्षेत्राधिकार मिचेर सञ्चालनमा रहेका भौतिक संरचनाहरू हटाउन महानगरले डोजर चलाएको हो ।
पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण र सडक मापदण्ड कार्यान्वयनको अभियानमा आक्रामक बनेको महानगरले उक्त टहराहरूमाथि डोजर चलाएको हो । राजमार्ग छेउमा रहेका यी टहराहरू विगत साढे चार दशकदेखि व्यावसायिक रूपमा प्रयोग हुँदै आएका थिए । एक्कासि डोजर चलाउँदा तनाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै महानगरपालिकाले पहिले सर्वपक्षीय छलफल गराएको थियो ।
स्थानीय सरोकारवाला, राजनीतिक दलका प्रतिनिधि र व्यवसायीहरूबीच भएको सर्वपक्षीय बैठकको सहमतिअनुसार नै संरचना हटाउने निष्कर्षमा महानगर पुगेको हो । सहमतिलगत्तै व्यवसायीहरू आफैँले सटर र पसलका सामानहरू खाली गरिदिएका थिए । व्यवसायीहरूले आफ्ना सामान सुरक्षित स्थानमा सारेपछि महानगरका डोजरले अतिक्रमित संरचनाहरू भत्काएको हो ।
राजमार्गको सौन्दर्यीकरण र स्तरोन्नतिका लागि यी टहराहरू मुख्य बाधक बनेको पोखरा महानगरको दाबी छ । अब अमरसिंह चोक क्षेत्रलाई सफा र व्यवस्थित बनाउने महानगरको योजना छ ।




प्रतिक्रिया