बेइजिङ, ६ जेठ । चीनका विभिन्न भागमा यस हप्ता परेको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीले कम्तीमा १२ जनाको ज्यान लिएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको छ । लगातारको वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेपछि व्यापक उद्धार तथा निकासी अभियान सञ्चालन भइरहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
चीनको मध्य भागस्थित हुनान प्रान्तअन्तर्गत शिमेन काउन्टी सबैभन्दा बढी प्रभावित क्षेत्रमा परेको छ । राज्य प्रसारणकर्ता सीसीटीभीका अनुसार सो क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता रहेका छन् । उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोजी तथा राहत कार्य तीव्र पारेका छन् ।
चिनियाँ आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार बिहान ७ बजेसम्मको २४ घण्टामा मात्र शिमेन काउन्टीमा ३३९ मिलिमिटर (करिब १३ इन्च) वर्षा मापन गरिएको छ । यसमध्ये एक सहरमा केही घण्टामै २४० मिलिमिटर (करिब ९ इन्च) वर्षा भएपछि ऐतिहासिक रेकर्ड नै तोडिएको अधिकारीहरूले जनाएका छन् ।
बाढीका कारण हुनानसँगै नजिकैको हुबेई प्रान्त पनि गम्भीर रूपमा प्रभावित भएको छ । त्यहाँ केही सडकहरू नदीजस्तै बनेका छन् भने उद्धारकर्ताहरूले फसेका बासिन्दालाई इन्फ्लेटेबल डुङ्गा प्रयोग गरी सुरक्षित स्थानमा पु¥याएका छन् । धेरै घरहरू डुबानमा परेका वा क्षतिग्रस्त भएका छन् । हुबेईमा तीन जनाको मृत्यु भएको र चार जना बेपत्ता रहेको पुष्टि गरिएको छ ।
दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्त पनि बाढीको चपेटामा परेको छ । सीसीटीभीका अनुसार त्यहाँ चार जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता छन् । लगातार वर्षाका कारण केही क्षेत्रमा घरहरू डुबानमा परेका छन्, सडकहरू भत्किएका छन् र सञ्चार सेवा अवरुद्ध भएको छ । करिब तीन हजार ७०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
चीनमा यस्ता प्राकृतिक विपद् सामान्य मानिन्छन् । गत वर्ष जुलाईमा बेइजिङमा भएको भारी वर्षा र बाढीका कारण दर्जनौँ मानिसले ज्यान गुमाएका थिए ।
यसैबीच, छुट्टै घटनामा दक्षिणी गुआङ्सी क्षेत्रमा शनिबार एउटा पिकअप ट्रक पुलबाट खस्दा १० जनाको मृत्यु भएको समाचार पनि सिन्ह्वाले जनाएको छ । रासस




प्रतिक्रिया