अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण जेठ २० गते


पोखरा । अन्नपूर्ण आधार शिविर (एविसी)बाट सुरु हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करण जेठ २० गते हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

माउरिस हार्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष जुन ३ तारिखलाई विशेष महत्वका साथ विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ । साहसिक खेलकुदसँगै पर्वतीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गर्दै आएको अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरुङले बताए ।

उनका अनुसार हालसम्म ६ विभिन्न देशका १३ विदेशी तथा २७ नेपाली धावकले प्रतियोगिताका लागि नाम दर्ता गराइसकेका छन् ।

जेठ १५ गतेसम्म नाम दर्ता गर्न पाइने छ । प्रतियोगितालाई विशेष बनाउन अर्जेन्टिनाका विश्व चर्चित धावक पाब्लो उरेटाले समेत यस वर्ष सहभागिता जनाउने बताइएको छ । उनी म्याराथनमा सहभागी हुने निश्चित भइसकेको गुरुङले जानकारी दिए ।

प्रतियोगिताले साहसिक खेलकुद र पर्वतीय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने संस्थाका सचिव मिकास गुरुङले बताए । प्रतियोगिता सफल बनाउन ५०१ सदस्यीय मूल आयोजक समिति तथा १३ वटा विभिन्न उपसमिति गठन गरिएको छ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताले नगद १ लाख ५० हजार र दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ७५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सबै मौसमका लागि पर्यटन भन्ने मूल नारासहित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले हरेक वर्ष म्याराथन आयोजना गर्दै आएको छ ।