एमाले सचिवालय बैठक आज पनि, १२ जना पदाधिकारीले बोल्ने सूची


नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज बिहान साढे ११ बजे बस्ने छ। बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने छ।

उपमहासचिव लेखराज भट्टका अनुसार पाँच जना उपाध्यक्षले हिजो आफ्नो धारणा राखेका थिए। धारणा राख्नेक्रममा हिजो एमालेका ४ जना उपाध्यक्षले नेतृत्व छाड्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । ओलीकै निवास गुण्डुमा शुक्रबार बसेको बैठकमा विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् ।

नेताहरूको कार्यविभाजनलगायतका प्रस्तावमाथि छलफल गर्न बसेको सचिवालय बैठकमा बोलेका ५ मध्ये ४ जनाले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् । हिजोको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले मात्र नेतृत्वको बचाउ गर्नुपर्ने बताएका थिए । आलीले भने कुनै पनि हालतमा नेतृत्व नछाड्ने बताउँदै आएका छन् । आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ।