नयाँ दिल्ली । भारतमा चर्चित बनेको व्यङ्ग्यात्मक राजनीतिक समूह कक्रोच जनता पार्टीले आफ्नो वेबसाइट सरकारले ब्लक गरेको दाबी गरेको छ । केही दिनअघि मात्र सुरु गरिएको यो समूहले सामाजिक सञ्जालमा तीव्र लोकप्रियता हासिल गरेको थियो ।
यो समूह भारतका प्रधानन्यायाधीशले बेरोजगार युवाहरूलाई ‘साङ्ला’ सँग तुलना गरेको भनाइपछि मजाकका रूपमा स्थापना गरिएको हो । पछि उनले आफ्नो टिप्पणी ‘नक्कली र झुडा डिग्री’ भएका मानिसहरूलाई लक्षित भएको स्पष्ट पारेका थिए । उनले आफ्नो भनाइ सम्पूर्ण भारतीय युवालाई नभएको बताएका थिए ।
हाल कक्रोच जनता पार्टीको वेबसाइट भारतभित्र मात्र होइन, अन्य देशबाट पनि पहुँच गर्न नसकिने अवस्थामा रहेको बताइएको छ ।
समूहका संस्थापक अभिजित दिपकेले भारतीय अधिकारीहरूले वेबसाइट हटाएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘उनीहरू साङ्लासँग किन यति धेरै डराउँछन् ?’ भन्दै प्रश्न गरेका छन् । साङ्ला त कहिले पनि मर्दैन भन्दै उनले नयाँ वेबसाइट तयार भइरहेको पनि बताएका छन् ।
एक्स खाता पनि रोकियो
२ लाखभन्दा बढी फलोअर भएको आधिकारिक एक्स खाता पनि रोकिएको छ । भारतमा यो खातामा पहुँच छैन । खाता खोल्न खोज्दा ‘कानुनी मामिलाको प्रतिक्रियामा रोक लगाइएको’ भन्ने सन्देश देखिने गरिएको छ ।
दिपके अमेरिकास्थित बोस्टन विश्वविद्यालयका विद्यार्थी तथा राजनीतिक सञ्चार रणनीतिकार हुन् । आफ्नो व्यक्तिगत इन्स्टाग्राम र समूहको इन्स्टाग्राम खाता ह्याक गरिएको दाबी पनि उनले गरेका छन् ।
मोदीको बीजेपीमाथि व्यङ्ग्य
‘कक्रोच जनता पार्टी’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) माथिको व्यङ्ग्य मानिएको छ । समूहले आफूलाई अल्छी र बेरोजगारहरूको आवाज भनेर चिनाउने गरेको छ । सदस्य बन्नका लागि उसले रमाइला मापदण्ड पनि बनाएको छ, जसमा जतिबेला पनि अनलाइन हुने र व्यावसायिक रूपमा बकवास गर्ने क्षमता हुनुपर्ने उल्लेख गरिएको छ । एजेन्सी



प्रतिक्रिया