दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण प्रतिबद्ध छ : पर्यटनमन्त्री


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । बुधवार काठमाडौँमा ‘एभरेष्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई साझा विश्वव्यापी दायित्व भएको उल्लेख गरे ।

समिटका क्रममा आयोजित राष्ट्रपतिसँगको ‘प्रेसिडेन्सियल ब्रेकफास्ट’ र आरोहीहरूको शपथ ग्रहण समारोहलाई उनले राष्ट्रिय गौरव र जिम्मेवारीको प्रतीक रहेको बताए ।

उनले नेपाललाई विश्वकै साहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न गाइड, शेर्पा, उद्धारकर्मी र पर्यटन व्यवसायीहरूको अतुलनीय योगदान रहेको स्वीकार गरे ।