काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि हस्तक्षेप लोकतन्त्रमाथिकै हस्तक्षेप हुने बताएका छन्। नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वतन्त्र प्रेस बिना पारदर्शी शासन, सुशासन र नागरिक अधिकारको रक्षा सम्भव नहुने उल्लेख गरेका छन्।
नेता आङदेम्बेले तीन् दशकभन्दा बढी समयदेखि युनियनले पेशागत अधिकार, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताए ।
उनले वर्तमान समयमा प्रेस स्वतन्त्रता पुनः चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै वर्तमान सरकार गठन भएयता समाचार लेखेकै आधारमा पत्रकारमाथि निगरानी बढाउने, विभिन्न माध्यमबाट दबाब सिर्जना गर्ने, समाचार स्रोत खुलाउन बाध्य पार्ने तथा आलोचनात्मक आवाजलाई नियन्त्रण गर्ने प्रवृत्ति बढेको आरोप समेत लगाएका छन्। साथै सरकारी सूचना र विज्ञापन वितरणमा विभेदकारी नीति अपनाएर निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने प्रयास भइरहेको पनि उनको भनाइ छ ।
उनले नेपाल प्रेस युनियनले उठाउँदै आएको श्रमजीवी पत्रकारको अधिकार, पेशागत सुरक्षा र स्वतन्त्र प्रेसको अभियान अझ सशक्त बन्ने विश्वास व्यक्त गर्दै सत्य, साहस र जनपक्षीय पत्रकारिताको आवाज अझ मजबुत बनाउँदै लोकतन्त्रको रक्षामा सबै पत्रकार एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।



प्रतिक्रिया