वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ


काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने उदयपुर रौतामाई गाउँपालिका-४ घर भएका ४५ वर्षीय राम बहादुर आले मगर, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिराहा लहान नगरपालिका-६ घर भएका ३२ वर्षीय आशिष कार्की, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ७९ वर्षीय लोक बहादुर श्रेष्ठ, सोही नगरपालिका-३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, काठमाडौं महानगरपालिका-२९ बस्ने पाल्पा तानसेन नगरपालिका-७ घर भएका ४८ वर्षीय कृष्ण प्रसाद पोखरेल र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने २९ वर्षीय प्रबिन श्रेष्ठ रहेका छन् । 

पक्राउ मध्ये राम बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३९ लाख ५८ हजार रूपैयाँ, आशिषले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, लोक बहादुरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ, तुलसाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कृष्ण प्रसादले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ र प्रबिनले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राम बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-८ बाट सोमबार, आशिषलाई काठमाडौं महानगरपालिका-१२ बाट, लोक बहादुरलाई काठमाडौं टोखा नगरपालिका-४ बाट, तुलसालाई टोखा नगरपालिका-३ बाट तथा कृष्ण प्रसादलाई काठमाडौं महानगरपालिका-१० बाट मंगलबार र प्रबिनलाई चन्द्रागिरी नगरपालिका-११ बाट बुधबार पक्राउ गरेको हो । 

पक्राउ मध्ये राम बहादुर र आशिषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने लोक बहादुर, तुलसा, कृष्ण प्रसाद र प्रबिनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।