काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनलाई लिएर अभियन्ता रक्षा बमले सरकारमाथि कडा आलोचना गरेकी छन् ।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अभियन्ता बमले सरकारलाई आयोगको प्रतिवेदन अक्षरंशः कार्यान्वयन गर्न चेतावनी दिएका हुन् ।
उनले स्वतःस्फूर्त रूपमा राष्ट्रिय बेथितिविरुद्ध सडकमा उत्रिएका युवाहरूलाई हिंसात्मक गतिविधिमा संलग्नहरूसँग तुलना गर्नु स्वीकार्य नहुने स्पष्ट पारेकी छन् ।
यस्तो छ उनले सामाजिक सञ्जालमा लेखेको स्टाटस :
सरकार , यदि तिम्रो नियत न्याय र अन्याय छुट्याउने हो भने अनुसन्धान प्रारम्भ गर। होइन भने आफ्ना राजनीतिक कित्ताबाजी मिलाउन आयोगको प्रतिवेदनमा बयान र प्रारम्भिक सोधखोजबिनै नाम राखेर आन्दोलनको अपराधीकरण गर्ने काम बन्द गर। स्वतःस्फूर्त रूपमा राष्ट्रका निम्ति, राष्ट्रमा भएको बेथितिविरुद्ध उभिएका युवाहरू र हिंसा र हुलदंगा मच्चाउनेहरूलाई एउटै डालोमा राख्ने काम स्वीकार्य छैन।
राज्य संकटको अवस्थामा ज्यानको बाजी थापेर राष्ट्र, संविधान र लोकतन्त्रका निम्ति ऐतिहासिक योगदान दिनुभएका व्यक्तिहरू पूर्वप्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालको नामसमेत जोडेर आफ्नो राजनीतिक दाउपेचको बीचमा पिस्ने काम नगर।
उहिल्यै तयार भएको मानव अधिकार आयोगको प्रतिवेदन अहिले सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक कार्यशैलीमा असक्षम हुँदै जानु, र यो प्रतिवेदनमार्फत अनाहकमा लोकतन्त्रका पक्षधरहरूको टाउकोमाथि तरबार झुन्ड्याउने सुविधा सरकारलाई पाउनु संयोग मात्र होइन होला।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन selective होइन, अक्षरशः कार्यान्वयन गर। अनुसन्धान यथाशीघ्र सुरू गर।



प्रतिक्रिया