बजेटले मुलुकको यथार्थ धरातललाई सम्बोधन गरेन : खुश्बु ओली


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकको यथार्थ धरातललाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् ।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट महत्वाकांक्षी रहेको र यसको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताइन् ।

श्रम र खेलकुद जस्ता युवाहरूसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा न्यून बजेट विनियोजन गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरिन् ।

उनले भनिन् ‘सरकारले आन्तरिक आय वृद्धि गर्ने ठोस योजना ल्याउन सकेको छैन, जसले गर्दा बजेट कार्यान्वयनमा विश्वासको संकट पैदा हुने देखिन्छ । सडक निर्माणमा भइरहेको लापरबाही र अनियमितताको गम्भीर अध्ययन हुन जरुरी छ । सडक मर्मतका लागि छुट्याइएको २८ अर्ब रुपैयाँले खाल्डाखुल्डी र धुलोको समस्या समाधान गरी नागरिकलाई राहत दिनुपर्छ ।’