प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध डा. डिलाको कडा प्रतिक्रिया, माफी माग्न माग !



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौलाले संघीय संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई राष्ट्रिय हितविपरीत, गैरजिम्मेवार र लज्जास्पद टिप्पणीको संज्ञा दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. संग्रौलाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषय ऐतिहासिक तथ्य, प्रमाण तथा संघीय संसदको सर्वसम्मत निर्णयबाट स्थापित भइसकेको स्मरण गराइन् । यस्तो अवस्थामा प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको स्पष्ट अडान र बलियो प्रमाणलाई कमजोर बनाउने तर्क गर्दै राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकार प्रमुखबाट अझ जिम्मेवार अभिव्यक्ति अपेक्षित हुने बताइन् ।

“छिमेकी राष्ट्रसँगको सीमा विवाद तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गरिनुपर्छ, संसद्को रोस्टम प्रयोग गरेर आफ्नै देशलाई मिचाहा देखाउने प्रयास स्वीकार्य हुन सक्दैन,” डा. संग्रौलाले उल्लेख गरेकी छन् ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिको घोर भर्त्सना गर्दै तत्काल देशवासीसमक्ष सार्वजनिक रूपमा माफी माग्न समेत माग गरेकी छन् ।
डा. संग्रौलाको यो प्रतिक्रिया सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे बहस थप चर्किएको छ ।