प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो


रूपन्देही । आइतबार प्रधानमन्त्री वालेन्द्र शाहले ‘भारतको भूमि पनि नेपालले मिचेको छ’ भन्ने अभिव्यक्ति दिएसँगै भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली सुस्ताको नेपाली भूमिमा प्रवेश गरेको छ । आइतबार साँझ नेपाली भूमिमा प्रवेश गर्दै एसएसबीको टोलीले नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध गरेको स्थानीयले जानकारी दिएका छन् ।

एसएसबीको टोलीले सुस्ता गाउँपालिका ५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएपछि हाल काम स्थगन गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।

भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा धेरै वर काम भइरहेको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिपछि ४०-५० जना भारतीय सुरक्षाकर्मी आएर काम रोक्न दवाव दिएको उनको भनाइ छ ।

डुबानको उच्च जोखिममा रहेको सुस्तालाई जोगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रूपैयाँ लगानीमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको उपाध्यायले बताए । उपाध्यायका अनुसार कुलमान घिसिङ मन्त्री हुँदा उनले आफैं उक्त स्थानमा पुगेर अवलोकन गरेपछि पदबाट राजिनामा दिनुभन्दा केहीदिन अघिमात्रै बजेट विनियाेजन गरेकाे थियाे ।