कृषि विश्वविद्यालयमा १५ दिनमा १५ काम


चितवन, १८ जेठ । यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयले नयाँ नेतृत्व पाएसँगै १५ दिनमा १५ वटा काम गरेको छ । विगतमा राजनीति खिचातानी र भागबण्डाका कारण विभिन्न नाममा हुने विवादले यहाँ कार्यसम्पादनमा समस्या हुने गरेको थियो । वर्तमान सरकार बनेपछि उपकुलपतिमा प्रा डा होमबहादुर बस्नेतलाई अर्को व्यवस्था नहुञ्जेलका लागि जिम्मेवारी दिएपछि कामले गतिलिएको हो ।

प्रा डा बस्नेतलाई वैशाख ३० गते प्रधानमन्त्री एवं विश्वविद्यालयको कुलपतिस्तरको निर्णयमार्फत उपकुलपति नियुक्त गरिएको थियो । यससँगै उनले विश्वविद्यालयमा रजिष्टार, डिन र रिक्त निर्देशकहरू नियुक्त गरी कामलाई तीव्रता दिएका हुन् ।

नयाँ सरकार बनेसँगै यसअघि राजनीतिक भागवण्डामा नियुक्त भएका उपकुलपति, रजिष्टार, डिन र निर्देशकहरूलाई एकमुष्ठ पदमुक्त गरिएको थियो । विश्वविद्यालय स्थापनायता नियमित रूपमा राजनीतिक भागवण्डामा नियुक्त भएका पदाधिकारीमार्फत हुन नसकेका कामसमेत हाल अगाडि बढेका छन् । उपकुलपति बस्नेतले राजनीतिक पक्षधरता नहेरी काम गर्नसक्ने सक्षम व्यक्तिलाई नियुक्त गरेर कामलाई तीव्रता दिएकाले काम गर्न सहज भएको बताए ।

आफूले गरेका १५ काम सार्वजनिक गर्दै उनले विश्वविद्यालयअन्तर्गतको वन विज्ञान सङ्काय हेटौँडा र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान क्याम्पस हेटौँडाको विवाद तत्कालका लागि समाधान गरिएको बताए । यहाँ रहेका विवाद र समस्याको दिगो समाधानका लागि शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराइएको उपकुलपति बस्नेतले जानकारी दिए ।

विश्वविद्यालयमा भएका गुनासालाई सम्बोधन गर्दै सुशासनको प्रत्याभूति दिन एवं विभिन्न निकायको परिपत्रलाई समेत मध्यनजर गर्दै मातहतका निकायलाई अभिप्रेरित गर्ने, विद्युतीय हाजिरी प्रणालीको नियमन तथा कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगको नियमन गरिएको उनले बताए ।

बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री एवं सचिवसँग छलफल गरी सोही मन्त्रालयको प्राथमिकतामा रहेका मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययनको लागि प्रारुप तयार गर्न यस विश्वविद्यलयसँग माग भएबमोजिम अवधारणापत्र तयार गरिएको उनको भनाइ छ ।

नेपाल सरकारले चीन सरकारको सहयोगमा भैँसी एवं राँगाको मासु निर्यातको उद्देश्य लिई सिन्धुलीको मरिण गाउँपालिकामा स्थापना गरिरहेको मासु प्रशोधन उद्योगमा प्राविधिक एवं विशेषज्ञ सेवा उपलब्ध गराउन सहकार्यका लागि पहल गरिएको बस्नेतले बताए ।

यस्तै, तीनवटै सङ्कायमा रोकिएको स्नातक, स्नातकोत्तर एवं विद्यावारिधि कार्यक्रमका गतिविधि, प्रयोगशाला मर्मतसम्भार, कृषि सङ्कायमा विद्युत् टान्र्सफर्मर जडान, अडिटोरियमहल मर्मत प्रक्रिया सुरु गरिएको उनको भनाइ छ ।

उपकुलपति बस्नेतले भने, “विशेष परिस्थितिका कारण स्थगित भएको यस विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह एवं छैटौँ विशेष बैठकको मितिसमेत तय गरी तयारी थालिएको छ । विश्वविद्यालयले विभिन्न दातृ निकायका अधिकारीसँग छलफल गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा थप प्रयास गरिएको छ ।”

यस विश्वविद्यालयको अनुसन्धान एवं प्रसार निर्देशनालयले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन आगामी असार ११ देखि १३ गतेसम्म गर्नेगरी तयारी अगाडि बढाइएको पनि उनले जानकारी दिए । विश्वविद्यालयले प्राध्यापकहरूको अभाव एवं बढ्दो कक्षा भारको समस्या समाधानका लागि काम अघि बढाइएको छ ।

असार ३ गते विश्वविद्यालयको स्थापना दिवस भव्य रुपमा मनाउनको लागि जिल्ला आइपिएम कृषक समूहको सहकार्यमा समुदायस्तरमा बाली उपचार शिविर गरिँदै छ । विविध कारणले रोकिएर बसेका पूर्वनिर्धारित कार्यक्रम अघि बढाइएको छ ।

समग्र कृषि शिक्षा, कृषि प्रसार एवं अनुसन्धान एकै छातामा रहने गरी अगाडि बढ्न राष्ट्रिय योजना आयोगका सदस्य डा देवेन्द्र गौचन एवं कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रासँग गहन छलफल गरी काम अघि बढाइएको बस्नेतले जानकारी दिए ।

विश्वविद्यालयमा कृषि सङ्काय, पशु विज्ञान, पशु चिकित्सा, मत्स्य विज्ञान सङ्काय र वन विज्ञान सङ्काय रहेका छन् । जहाँ स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन गर्ने तीन हजार ९०० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयअन्तर्गत आठ वटा आंगिक क्याम्पस र सात वटा सम्बन्धन प्राप्त निजी क्याम्पस छन् । विसं २०६७ मा विश्वविद्यालय स्थापना भएको हो । रासस