काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि बस्न सकेको छैन। सामान्यतया साताको दुईपटक सोमबार र बिहीबार बस्दै आएको बैठक लामो समयदेखि रोकिएपछि सरकारका महत्वपूर्ण निर्णयसमेत प्रभावित भएका छन्।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले १२ वटा निर्णय गरेको थियो। त्यसयता दसैँ बिदा सकिएर तिहार नजिकिँदासमेत अर्को बैठक बस्न सकेको छैन।
यसबीच प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच विभिन्न विषयमा छलफल भएको बताइएको छ। दुई नेताबीचको भेटपछि मन्त्रिपरिषद् बैठक स्थगित भएको चर्चा छ।
गत बुधबार भएकाे प्रधानमन्त्री र लामिछानेबीचकाे भेटवार्तामा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, निजामती सेवा अध्यादेश, राजनीतिक नियुक्ति तथा रास्वपा सांसद खगेन्द्र सुनारको विवादित अडियो प्रकरणबारे छलफल भएको स्रोतको दाबी छ।
विशेषगरी आईजीपी कार्कीको विषयले सरकारभित्र असमझदारी बढाएको चर्चा छ। निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विवाद र प्रहरी नेतृत्व परिवर्तनको चर्चाले प्रहरी संगठनभित्र समेत अन्योल सिर्जना गरेको छ।
यसैबीच, आईजीपी कार्कीले बिहीबार प्रहरी प्रधान कार्यालयमा पीसीसी बैठक बोलाएका थिए। दिउँसो सवा २ बजे सुरु भएको बैठक साँझ पौने ८ बजेसम्म चलेको थियो। बैठकमा काठमाडौं उपत्यकामा कार्यरत डीआईजी र एआईजीसँगै पहिलोपटक सातै प्रदेशका प्रहरी प्रमुख तथा डीआईजीलाई समेत सहभागी गराइएको थियो।
बैठकमा प्रहरी संगठनमाथि भइरहेको आलोचना र नेतृत्वलाई लिएर उठेका प्रश्नको सामना गर्न सबै एकजुट हुनुपर्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ।
यता, शुक्रबार पत्रकार पक्राउ गरिएको घटनाले पनि रास्वपा नेतृत्व र सरकारबीचको मतभेद थप बढाएको स्रोतको दाबी छ। पत्रकार पक्राउ र सञ्चारमाध्यममाथि प्रहरी परिचालनको विषयलाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिएको बताइएको छ। प्रेस स्वतन्त्रता र सरकारको कार्यशैलीलाई लिएर उठेका प्रश्नले नेतृत्वबीच थप छलफलको आवश्यकता बढाएको स्रोतको भनाइ छ।
अर्कोतर्फ, निजामती सेवा अध्यादेशमा प्रस्तावित ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदको व्यवस्थालाई लिएर पनि सरकारभित्र मतभेद रहेको बताइएको छ। राजनीतिक नियुक्तिका विषयमा समेत सहमति जुट्न नसकेको स्रोतको दाबी छ।
यिनै विषयमा साझा धारणा बनाएर मात्रै मन्त्रिपरिषद्बाट निर्णय गर्ने तयारी गरिएकाले बैठक अनिश्चित बनेको चर्चा छ।
सरकारका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णय लिनुपर्ने समयमा मन्त्रिपरिषद् बैठक नै बस्न नसक्दा प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीचको सम्बन्ध तथा सरकारको आगामी कार्यदिशाबारे चासो बढेको छ।
अब तिहारअघि मन्त्रिपरिषद् बैठक बस्छ वा थप लम्बिन्छ भन्ने विषय अन्याेलमै देखिएकाे छ ।




प्रतिक्रिया