​सीमा विवादबारे ऋषि धमलाले भने-“नेपालले भारतको भूमि मिचेको तथ्यांक छैन “


काठमाडौँ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले नेपालको विकासका लागि नेपाल-भारत सम्बन्ध राम्रो हुनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौमा आयोजित ​पत्रकार सम्मेलनमा बोल्दै धमलाले नेपालको आर्थिक र समग्र विकासका लागि छिमेकी मित्रराष्ट्र भारतसँगको सम्बन्ध सधैँ सुमधुर र मजबुत हुनुपर्ने बताएका हुन् ।

​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मात्रै ५ दिने भ्रमणका लागि नयाँ दिल्लीमा गएका छन् । यसैबीचमा धमलाले ​नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुवै देशका सरकार प्रमुखहरूबीच निरन्तर संवाद हुनुपर्ने धारणा राखे ।​ `नेपालको विकास हुन नेपाल-भारत सम्बन्ध राम्रो हुनुपर्छ। यसका लागि नेपालका प्रधानमन्त्री भारतमा र भारतका प्रधानमन्त्री नेपालमा वर्षमा कम्तीमा एकपटक औपचारिक भ्रमण भइरहनुपर्छ,´ धमलाले भने ।

​प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्मा “नेपालले पनि भारतको भूमि मिचेको छ” भनी दिएको अभिव्यक्तिको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा धमलाले कुनै खण्डन् गर्न चाहेनन् । उनले आफ्नो लामो पत्रकारिता अनुभवको उदाहरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्तिमाथि खण्डन नगरे पनि त्यसको आधारमाथि भने संशय व्यक्त गरे । ​आफ्नो रिपोर्टिङ स्मरण गर्दै धमलाले भने `म १४ वर्षदेखि पत्रकारितामा लागेको व्यक्ति हुँ । रिपोर्टिङको क्रममा देशका विभिन्न सिमानाहरूमा पुगेको छु। तर, नेपालले भारतको भूमि मिचेको भन्ने कतै जानकारी आएको छैन र यसको कुनै आधिकारिक तथ्याङ्क पनि छैन।´

​सीमाविद्हरूले समेत हालसम्म नेपालद्वारा भारतको भूमि मिचिएको भनेर आफूलाई कहिल्यै जानकारी नगराएको उनको भनाइ छ । यद्यपि, प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले संसद् जस्तो गरिमामय ठाउँमा बोलेको हुनाले त्यसको पछाडि कुनै विशेष आधार वा प्रमाण हुनसक्ने शङ्का उनले गरे ।

​धमलाले स्वतन्त्र नागरिक अभियानले सरकारको विरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारे । ​`हामी प्रधानमन्त्रीको आलोचना गर्दैनौँ। हाम्रो अभियानले सरकारले गर्ने राम्रा काममा पूर्ण समर्थन र गलत कार्यहरूमा खबरदारी गर्नेछौँ,´ उनले भने ।

साथै उनले प्रधानमन्त्री बालेन २०७९ सालमा स्वतन्त्र रूपमा काठमाडौ महानगरको मेयरमा स्थापित भएको स्मरण गराउँदै ​२०८४ को स्थानीय निर्वाचन ‘निर्दलीय’ हुनुपर्नेमा जोड दिए । ​`आगामी २०८४ सालमा हुने स्थानीय तहको निर्वाचन पूर्ण रूपमा निर्दलीय हुनुपर्छ। स्थानीय तहमा पार्टीभन्दा माथि उठेर स्वतन्त्र व्यक्तिहरूले नेतृत्व गर्न पाउनुपर्छ,´ धमलाले भने ।