अवैध गतिविधिमा संलग्न १५ जना बंगलादेशी नागरिकहरू पक्राउ


काठमाडौं– ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ बस्ने २५ वर्षीय MD MAJIDUL ISLAM REDOY समेत १५ जना बंगलादेशी नागरिकहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं ठमेल एरियामा बंगलादेशी लगायतका विदेशी नागरिकहरूले भिजिट भिसामा नेपाल आई भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसेको भन्ने सूचना आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित होटल ACE को चौथो, पाँचौ, छैटौ तल्लाका कोठाहरू भाडामा लिई अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको फेक फेसबुक एकाउन्ट बनाई बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने, ब्ल्याकमेल गरी पैसा माग्ने जस्ता अवैध गतिविधिमा संलग्न रहेको खुल्न आएको छ । 

 उनीहरूलाई अध्यागमन ऐन अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको छ ।