अष्ट्रेलियाको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा ०.३ प्रतिशतमा सीमित


काठमाडाैँ। अष्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को पहिलो त्रैमासिकमा सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ। अष्ट्रेलियाको तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार मार्चसम्मका तीन महिनामा देशको कुल गार्हस्थ्य उत्पादन ०.३ प्रतिशतले वृद्धि भएको छ । यो सन् २०२५ को अन्तिम त्रैमासिकमा रहेको ०.९ प्रतिशत वृद्धिदरको तुलनामा उल्लेखनीय रूपमा कम हो।

वार्षिक आधारमा भने मार्चसम्मको १२ महिनामा अष्ट्रेलियाको अर्थतन्त्र २.५ प्रतिशतले विस्तार भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको वृद्धिदरसँग बराबर रहेको छ। तथ्यांकअनुसार उक्त अवधिमा घरपरिवारको उपभोग खर्च ०.५ प्रतिशतले बढे पनि सरकारी उपभोग खर्च ०.२ प्रतिशतले घटेको छ । सरकारी खर्चमा आएको यो गिरावट सेप्टेम्बर २०२२ यताकै सबैभन्दा न्यून त्रैमासिक स्तर मानिएको छ।

तथ्यांक सार्वजनिक भएपछि अष्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र अस्थिरताबीच पनि अष्ट्रेलियाको अर्थतन्त्रले लचकता प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँका अनुसार अर्थतन्त्रले विभिन्न चुनौतीको सामना गरिरहे पनि यसको आधारभूत संरचना अझै मजबुत रहेको संकेत पछिल्लो तथ्यांकले दिएको छ।

यस अवधिमा खानी क्षेत्रको उत्पादन १.५ प्रतिशतले घटेको छ। प्रतिकूल मौसमका कारण उत्पादनमा असर परेको बताइएको छ। त्यस्तै, कोइला र खनिज अयस्कको निर्यात घट्दा कुल निर्यात १.१ प्रतिशतले कमी आएको छ भने आयात २.१ प्रतिशतले बढेको छ ।

तथ्यांक कार्यालयका अनुसार व्यापार सन्तुलनको प्रभावका कारण त्रैमासिक आर्थिक वृद्धिदरमा ०.८ प्रतिशत बिन्दुको नकारात्मक असर परेको छ।

यसैबिच अष्ट्रेलियाको केन्द्रीय बैंकले गत मे महिनामा सार्वजनिक गरेको प्रक्षेपणमा वार्षिक आर्थिक वृद्धिदर जुन त्रैमासिकमा १.९ प्रतिशत र डिसेम्बरसम्म १.३ प्रतिशतमा झर्ने अनुमान गरेको छ। रासस