मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित हवाई सेवा उडान करिव तीन महिनाका लागि बन्द गरेको जनाएका छन् ।
बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा–जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।
बेनी हुँदै सडकमार्गबाट मुस्ताङ आउने पर्यटकको चहलपहल यथावत रहे पनि पोखरा–जोमसोम हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुने पुगेका प्रमुख पोखरेलले उल्लेख गरे । यहाँ तारा एयरलाइन्सले मे २२ र समिट एयरलाइन्सले जुन २ तारिखदेखि पोखरा–जोमसोम हवाई सेवा बन्द गरेका प्रमुख पोखरेलले बताए ।
जोमसोम नागरिक उड्डयन कार्यालयले बर्सेनि हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा यहाँको पोखरा–जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ । यहाँ उडान भर्ने साना जहाजहरू हुम्ला सिमीकोटतर्फ उडाइएको छ । भारतीय पर्यटकका लागि तिब्बतको मानसरोवर यात्रा खुला गरिएकाले यहाँ उडान भर्ने साना जहाज त्यसतर्फ पठाइएको हो ।
यहाँको नियमित हवाई उडान सेवा बन्द गरिएको भएपनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने जोमसोम नागरिक उड्डयन प्रमुख पोखरेलको भनाइ छ । पर्यटकीय याममा दैनिक तारा र समिटले गरी औसत १० वटा उडान भर्ने गरेको र जसमा पोखराबाट हर्वा मार्ग प्रयोग करिब १५० बढी पर्यटक मुस्ताङ आउने गरेका छन् ।
समिट एयरलाइन्स जोमसोमका स्टेशन इञ्चार्ज सुमन थकालीले समिट एयरले जुन २ देखि उडान बन्द गरेको जानकारी दिए । बन्द गरिएको उडान अगस्ट १५ देखि सञ्चालनमा ल्याउने योजना रहेको स्टेशन इञ्चार्ज थकालीले उल्लेख गरे ।
यसैगरी तारा एयरलाइन्सले पनि मे २२ देखि बन्द गरेको पोखरा–जोमसोम हवाई सेवा सेप्टेम्बरदेखि सञ्चालनमा आउने जोमसोमस्थित स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए । पर्यटक अफसिजन र मनसुन सुरु भएकाले हवाई सेवा बन्द गर्नुपरेको उनको भनाइ छ ।
यसअघि पोखरा–जोमसोम हवाई उडान सेवाअन्तर्गत तारा एयरलाइन्सले डिसेम्बर चारदेखि मार्च एकसम्म र समिट एयरलाइन्सले डिसेम्बर एकदेखि फेब्रुअरी एकसम्म नियमित हवाई सेवा बन्द गरेका थिए । रासस



प्रतिक्रिया