काठमाडौँ । नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या रहेको एक अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ ।
काठमाडौँमा आज एक्सनएडले सार्वजनिक गरेको प्रतिवेदनमा १३ जिल्लाका ३६१ श्रमिकमाथि गरिएको अध्ययनमा ६६ दशमलव २ प्रतिशतले ज्याला नै नपाएको र ७३ दशमलव ४ प्रतिशत श्रमिकले आंशिक ज्याला प्राप्त गरेको उल्लेख छ । तेह्र जिल्लाका ३६१ जना श्रमिकबीच गरिएको सर्वेक्षणमा ९३ दशमलव १ प्रतिशतसँग लिखित सम्झौता नभएको, ८९ दशमलव २ प्रतिशतले औपचारिक उजुरी नदिएको, २४ दशमलव ९ प्रतिशतले ढिलो भुक्तानी पाएको तथा १८ दशमलव ० प्रतिशतले सहमत दरभन्दा कम ज्याला पाएको उल्लेख छ ।
पुरुषका तुलनामा महिलाले ३१ दशमलव १ प्रतिशत कम ज्याला पाउने अवस्था प्रतिवेदनले देखाएको छ । असमान ज्यालाको समस्याबाट पुरुषको तुलनामा महिला श्रमिक ३ दशमलव ५ गुणा बढी प्रभावित भएको अध्ययनले जनाएको छ ।
ठेकेदार र प्रमुख रोजगारदाता उच्च शोषणको केन्द्र हुने गरेको प्रतिवेदनको निष्कर्ष छ । ५७ दशमलव ३ प्रतिशत श्रमिकले ठेकेदारमार्फत ज्याला प्राप्त गर्ने, ठेकेदारमार्फत काम गर्ने श्रमिकमा लिखित सम्झौताको दर ६ दशमलव ९ प्रतिशत मात्रै रहेको तथा विचौलियामार्फत जोडिएका श्रमिकमा लिखित सम्झौताको दर शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमाथि टिप्पणी गर्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का उपमहासचिव नारायणनाथ लुइँटेलले अनौपचारिक श्रमिक क्षेत्रमा ज्यालामा ठगी भइरहेको बताए ।
एक्सनएड अन्तरराष्ट्रिय नेपालका कार्यक्रम, नीति तथा व्यवसाय विकास प्रमुख सरोज पोखरेल ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकसँग पर्याप्त प्रमाण जुटाउने क्षमता र पहुँच सीमित हुने भएकाले न्याय पाउन थप चुनौती रहेको बताए । रासस



प्रतिक्रिया