काठमाडौ जेठ २२ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीभित्र पछिल्लो समय उठाइँदै आएको ‘एकता’को बहसमाथि कडा टिप्पणी गरेका छन्। कांग्रेस फुटेकै नभएको अवस्थामा सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा ‘एकता, एकता’ भन्दै भ्रम फैलाउने प्रयास भइरहेको उनको आरोप छ।
सत्तारले कांग्रेसको वास्तविक बटम लाइन कुनै व्यक्ति वा गुटको सम्झौता नभई पार्टीको विधि, विधान र नियमित महाधिवेशन भएको स्पष्ट पारे। उनले कांग्रेसभित्र देखिएका मतभिन्नतालाई फुटको संज्ञा दिन नमिल्ने उल्लेख गर्दै पार्टीको संस्थागत प्रक्रियालाई कमजोर पार्ने गतिविधिबाट सबै सचेत हुनुपर्ने बताए।
“मैले नबुझेको कुरा के हो भने कांग्रेस फुटेकै छैन, फेरि पनि सामाजिक सञ्जालमा एकता–एकता भन्दै हिँडिएको छ।
उनले कांग्रेसको शक्ति व्यक्तिमा नभई संगठन, विचार र लोकतान्त्रिक अभ्यासमा रहेको उल्लेख गर्दै पार्टीको विधान, नीति, नियम, निर्देशन र गौरवशाली परम्परालाई स्वीकार गरेर अघि बढ्नु नै सबैका लागि हितकर हुने धारणा राखे।
सत्तारले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन नियमित महाधिवेशन, विधिसम्मत निर्णय प्रक्रिया र संगठनात्मक अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताए। “कांग्रेसको बटम लाइन भनेकै नियमित महाधिवेशन हो।
पार्टीको विधान र संस्थागत मूल्य मान्यताभन्दा माथि कोही हुन सक्दैन,” उनले जोड दिए।
उनले व्यक्तिगत महत्वाकांक्षा र गुटगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउने दिशामा केन्द्रित हुन नेता–कार्यकर्तालाई आग्रह गरे। कांग्रेसलाई एकताबद्ध, अनुशासित र जनमुखी संगठनका रूपमा अगाडि बढाउन सबै पक्षले विधि र पद्धतिलाई आत्मसात गर्नुपर्ने उनको भनाइ छ।
नेता सत्तारले पार्टीको दीर्घकालीन हित, लोकतान्त्रिक संस्कार र संगठनात्मक मजबुतीका लागि सबैले साझा प्रतिबद्धता जनाउनुपर्ने उल्लेख गर्दै आफ्नो भनाइ “जय नेपाल” का साथ टुंग्याएका छन्।



प्रतिक्रिया