काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै सञ्चारकर्मीहरूले उनलाई एउटा यस्तो प्रश्न गरे, जसको जवाफ नेपालको राजनीतिमा सधैँ पेचिलो बन्ने गर्छ— “भ्रमणका क्रममा धेरै कुराहरू देखियो तर सीमा विवादबारे केही कुरा भएको देखिएन ? पत्रकारितामा हुँदै उठाउँदै आइरहेको आवाज भारत गएपछि बिर्सनुभएको हो ?”
जवाफमा दिँदै लामिछानेले कूटनीतिक च्यानलहरूलाई सक्रिय बनाएर मात्रै संवेदनशील विषयको समाधान खोजिनुपर्ने बताए।
‘कुनै पनि विषय कूटनीतिक माध्यमबाट डिप्लोम्याटिक च्यानलहरूलाई सक्रिय बनाएर समाधान गर्नु महत्त्वपूर्ण हुन्छ। तिनको आवाज ढोल बजाएर (सडकमा चिच्याएर) हुँदैन,’ लामिछानेले भने, ‘ढोल नबजाईकन आफ्ना देशका बारेमा गर्नुपर्ने कुराहरू, गर्नुपर्ने ठाउँमा र उचित समयमा चरणबद्ध तरिकाले गर्नुपर्छ।’
उनले राजनीतिक दल र सडक आन्दोलनको फरक स्पष्ट पार्दै थपे, ‘एउटा एक्टिभिस्ट (अभियन्ता) ले कुरा उठाउने विषय, एउटा जर्नलिस्ट (पत्रकार) ले उठाउने विषय र एउटा जिम्मेवार राजनीतिक दलले उठाउने विषय उस्तै हुँदैन। यसको फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको कुनै महत्त्व रहँदैन।’
लामिछानेले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको पनि बताए ।
भ्रमणका क्रममा लामिछानेले खेलकुददेखि सूचना प्रविधिसम्मका सहकार्य,कनेक्टिभिटी र धार्मिक पर्यटनका एजेन्डा समेत उठाएका थिए ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।

भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका थिए।
रवि नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य थिए ।



प्रतिक्रिया