​रास्वपा जिल्ला अधिवेशन: देखियो ‘पुरानै दलको पारा’, जताततै विवाद र झडप !



काठमाडौँ । ​ नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा २०७९ असार ७ मा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पनि अन्ततः पुराना दलहरूकै प्रवृत्ति देखिएको छ। आगामी असार ७,८ र ९ गतेसम्म हुने प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशैभर सुरु भएको जिल्ला अधिवेशनका क्रममा रास्वपाभित्र तीव्र गुटबन्दी, आन्तरिक विवाद र हानाहानसम्मको स्थिति देखिएको हो।

​शनिबार र आइतबार (जेठ २३ र २४ गते) ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको रास्वपाभित्र नेतृत्व र प्रतिनिधि छनौटको विषयलाई लिएर तल्लो तहसम्मै विवाद चुलिएको छ।
​सनिवार अधिवेशनकै क्रममा मधेश प्रदेशको पर्सामा रास्वपाका दुई पक्षबिच झडप भएको छ। वीरगन्ज-९ स्थित ‘होटल गेट वे’ मा जिल्ला अधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर पार्टीका कार्यकर्ताहरूबिच विवाद सुरु हुँदा दुई समुहबिच हानाहानै भएको थियो । उक्त झडपका क्रममा रास्वपाका तीन जना कार्यकर्ता घाइते भएका थिए ।

‘नयाँ र सभ्य’ पार्टीको दाबी गर्ने रास्वपाभित्र पद र नेतृत्वका लागि भएको यो कुटाकुटले पुराना राजनीतिक दलहरूको महाधिवेशनका बेला हुने हुलमुल र मारपिटको झल्को दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

​ केही दिन अघि मात्रै सम्पन्न भएको पालिका र वडा अधिवेशनहरूमा पनि देशका विभिन्न स्थानमा झडप र विवाद भएका थियो । पार्टीमा आफू अनुकूलका मान्छे सङ्गठनमा भित्र्याउने दाउपेचका कारण केही वडा र पालिकाहरूमा विवाद अझै साम्य हुन सकेको छैन । विवादकै कारण कतिपय वडा र पालिकाहरूमा त अझैसम्म वडा अधिवेशनसमेत हुन सकेको छैन, जसले गर्दा पार्टीको सङ्गठनात्मक संरचना नै भद्रगोल बनेको अवस्था देखिएको छ।

​विवादकै कारण मधेश प्रदेशकै बारा जिल्लाको अधिवेशन त पूर्वनिर्धारित समयमा सुरु हुनै सकेको छैन । आन्तरिक विवाद तीव्र भएपछि बाराको अधिवेशन आगामी जेठ २६ गतेका लागि सारिएको छ।


​विवाद र झडपका बिच रास्वपाले पहिलो दिन आज शनिबार देशका ३७ जिल्लाहरूमा अधिवेशन प्रक्रिया अगाडि बढाएको छ।

सनिवार जिल्ला अधिवेशन सुरु भएको जिल्लाहरु :

​कोशी प्रदेश (८ जिल्ला): झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी।

​मधेश प्रदेश (२ जिल्ला): महोत्तरी र रौतहट

​बागमती प्रदेश (९ जिल्ला): दोलखा, काठमाडौँ, भक्तपुर, रामेछाप ,नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली।

​गण्डकी प्रदेश (५ जिल्ला): स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी।

​लुम्बिनी प्रदेश (८ जिल्ला): गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा।

​कर्णाली प्रदेश (२ जिल्ला): कालीकोट र सल्यान।

​सुदूरपश्चिम प्रदेश (३ जिल्ला): बैतडी, बझाङ र दार्चुला।

​बाँकी रहेका २९ जिल्लाहरू (उदयपुर, सोलुखुम्बु, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, कैलाली, कञ्चनपुर लगायत) मा भोलि आइतबार अधिवेशन हुने कार्यतालिका छ। ७७ मध्ये बाँकी ११ जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन पछि मात्रै गर्ने रास्वपाले जनाएको छ।


​पार्टी स्थापनाको छोटो समयमै संसदमा दुई तिहाईमा दुई कम अर्थात २७५ मा १८२ सिट ल्याएर एकलौटी सरकार निर्माण गर्न सफल रास्वपाले आफूलाई परम्परागत राजनीतिक संस्कारभन्दा माथि उठेको दाबी गर्दै आएको थियो। तर, देशैभरका वडा, पालिका र जिल्ला अधिवेशनमा देखिएको गुटबन्दी र झडपले रास्वपा पनि अन्ततः नेपाली कांग्रेस, एमाले र माओवादी जस्तै ‘गुट, फुट र झडप’ को परम्परागत राजनीतिको दलदलमा फसिसकेको देखिन्छ ।
​सङ्गठन विस्तार र सत्ताको स्वादसँगै पार्टीभित्र मौलाएको महत्त्वाकाङ्क्षा र आन्तरिक लोकतन्त्रको अभावका कारण कार्यकर्ताहरू संयमित हुन नसकेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन सुरु हुने जानकारी महामन्त्री कबीन्द्र बुर्लाकोटीले दिएका छन् । यसैबेला जिल्ला तहमा सल्किएको विवादको आगोले प्रदेश र राष्ट्रिय महाधिवेशनलाई कस्तो प्रभाव पार्ने हो, त्यो भने हेर्न बाँकी नै छ।

Skip This

Omoda E5 Pro