सर्वदलीय बैठकमा प्रचण्ड पनि नजाने, को-को नेता जाँदैछन ?


काठमाडौं, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक अहिले केहीबेरमा शुरु हुँदैछ । बैठक संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक बस्नेछ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने बताइएको छ । बैठकमा विभिन्न पार्टीका नेताहरु सहभागी हुँदैछन् । नेपाली कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेले प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाले सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुनलाई बैठकमा पठाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका कारण उनको अनुपस्थितिमा नेकपाका तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुनले बैठकमा प्रतिनिधित्व गर्ने भएका हुन् ।

Skip This

Omoda E5 Pro