रविलाई विपक्षीले भने, ‘भारत भ्रमणअघि नै छलफल गरेको भए राम्रो हुन्थ्यो’


काठमाडौँ । निर्वाचनपछि संसद्को सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गरेका छन् । गत २१ फागुनमा सम्पन्न निर्वाचनपछि सत्तारुढ दलको नेतृत्वमा पहिलोपटक सर्वदलीय बैठक बसेको हो ।

सोमबार सिंहदरबारमा आयोजित बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासहितका संसद्‌मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको उपस्थिति थियो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री एवं रास्वपा सभापति लामिछानेले आफ्नो हालै सम्पन्न भारत भ्रमण र सरकारको कामकारबाहीबारे दलहरूसँग सुझाव मागेको जानकारी दिए ।

‘नयाँ निर्वाचनपछि सत्तारुढ दलका शीर्ष नेताको आह्वानमा पहिलोचोटि सर्वदलीय बैठक बसेको हो । बैठकमा रास्वपाका सभापतिले आफ्नो भारत भ्रमणबारे दलहरूलाई जानकारी गराए,’ अध्यक्ष लिङदेनले भने, ‘अहिलेसम्म आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले गरेको कामको बारेमा सुझाव र टिप्पणी माग्नुभयो । हामीले यस्ता छलफलहरूलाई निरन्तरता दिनुपर्ने कुरा राख्यौँ ।’

छलफलका क्रममा विपक्षी दलका नेताहरूले भने भारत भ्रमणमा जानुअघि नै सर्वदलीय बैठक राखेको भए उपयुक्त हुने सुझाव लामिछानेलाई दिएका छन् । भ्रमणअगावै छलफल भएको भए राष्ट्रिय सहमति बन्ने र अनावश्यक टीकाटिप्पणी नहुने वातावरण बन्ने धारणा दलका प्रतिनिधिहरूले राखेका थिए ।

Skip This

Omoda E5 Pro