काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।
सोही घटना प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालयका पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार महाभारत काभ्रेपलाञ्चोकका प्रहरी हबल्दार बासुदेव खड्का र जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेको समिति गठन भएको हो ।
समितिलाई घटनाको कारण तथा जिम्मेवार पक्ष पहिचानसहित सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।



प्रतिक्रिया