काठमाडौं । चलचित्र ‘रोल नं १’ले विद्यार्धी र अभिभावकको साथ पाएको छ । सिनेमा हेर्ने विद्यार्धी र अभिभावकले ‘रोल नं १’को तारिफ गरेका छन् ।
सिनेमा हेर्नेले पुनः ‘रोल नं १’ हेर्न आउने बताएका छन् ।
“हाम्रो चलचित्रलाई विधार्थी, स्कुलको साथ छ । हेर्ने जति सबैले भन्छन्– हामीले मात्र हेरेर हुँदैन, बुवा आमासहित फेरि हेर्न आउने छौँ,” निर्माता विनोद पौडेलले भने, “विद्यार्थी आउँदा हामी बुवाआमालाई पनि लिएर आउँछौँ भनिरहनु भएको छ । बुवाआमा आएर हेर्दा छोरोछोरीलाई पनि लिएर आएर हेर्ने हो भनिरहनु भएको छ । ”
विद्यार्थी र अभिभावक दुवैको साथ ‘रोल नं १’लाई मिलेको उनले बताए । सिनेमाले नेपाली शैक्षिक प्रणाली र यसको मूल्यांकन विधिमा उठाएको प्रश्नप्रति अभिभावक र विद्यार्थी दुवै कन्भिन्स भएको निर्माता पौडेलको भनाइ छ ।
चलचित्रलाई दर्शकले मन पराएकाले वर्ड अफ माउथ पनि राम्रो रहेको उनको भनाइ छ । पछिल्लो समय यो चलचित्र स्कुलले पूरै शो नै बुकिङ गरेर हेरिरहेका छन् । स्कुलले शो नै बुकिङ गरेर हेरिरहेको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा बाक्लै देखिरहेको छ । विद्यार्थीहरू सिनेमा हेर्न गएपछि सिनेमाले पाएका शो हाउसफूल भइरहेको निर्माणपक्षले जनाएको छ ।
यसरी सिनेमा हेर्ने दर्शक आएपछि अझै लामो समय ‘रोल नं १’ जानेमा निर्माण टिम ढुक्क छ । सिनेमा हेर्ने दर्शकले विद्यार्थी, शिक्षक र अभिभावक सबैले हेर्नै पर्ने चलचित्र भनेर तारिफ गरिरहेका छन् । यो चलचित्रले हालसम्म नेपाली बक्सअफिसमा एक करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको छ ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन गरेका छन् ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।
शिवराम श्रेष्ठ डीओपी रहेको यो सिनेमामा प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन छ ।



प्रतिक्रिया