सामाजिक सञ्जालमा रङ्गेहात भेटिएको भिडियो सार्वजनिक भएपछि बेपत्ता भएकी महिला जंगलमा मृत फेला


काठमाडौं, जेठ ३१ । अछामको ढकारी गाउँपालिका–४ बलाताकी ३५ वर्षीया मनिषा देवी साउँद जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शुक्रबार बिहान करिब ११ बजेदेखि घरबाट सम्पर्कविहीन भएकी साउँदको शव आइतबार जंगलमा फेला परेको हो।

उनी ढकारी गाउँपालिका–४ की वडा सदस्यसमेत रहेकी थिइन्। परिवारले शनिबार दिउँसो करिब २ बजे प्रहरी चौकी ढकारीमा हुलियासहित खोजीका लागि निवेदन दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक रूपमा मृत्युको कारण खुल्न बाँकी रहेको र पोस्टमार्टम प्रतिवेदनपछि थप विवरण आउने जनाइएको छ। यसअघि सामाजिक सञ्जालमा साउँद र उनकै वडाका एक स्थानीय राजनीतिक नेतासँग सम्बन्धित भन्दै एउटा भिडियो सार्वजनिक भएको थियो।

उक्त भिडियो सार्वजनिक भएपछि उनी सम्पर्कविहीन भएकी थिइन्। भिडियोको सत्यता तथा घटनासँगको सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।