एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै


कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयले १८औँ सिनेट, चौथो दीक्षान्त र १६औँ वार्षिकोत्सव समारोह यही असार ३ गते एकै दिन गर्ने भएको हो ।

चौथो दीक्षान्त समारोह तथा विश्वविद्यालयसभा–२०८३ को सञ्चार तथा प्रचारप्रसार उपसमितिका संयोजक डा विष्णुकुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिष्टमा रहेका एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुन लागेको जानकारी दिए । उनका अनुसार कूल विद्यार्थीमध्ये ४५५ विद्यार्थीहरुले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएका छन् ।

विश्वविद्यालय सात ग्राजुएट स्कुलअन्तर्गत शैक्षिकोपाधि हासिल गरेका स्नातक तहका एक हजार २२२, स्नातकोत्तर तहका ६९४ र दर्शनाचार्य तहका १२ जना विद्यार्थीलाई दीक्षित गर्नेगरी तय भएको उनले बताए । संयोजक डा खड्काका अनुसार हालसम्म विश्वविद्यालयबाट यस छ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन् ।

समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आथित्यता रहने संयोजक डा खड्काले जानकारी दिए । मप विश्वविद्यालयका उपकुलपति डा नारायणप्रसाद पौडेलले सभामा आम्दानीको खर्च, आगामी आव २०८३÷०८४ को प्रस्तावित रु एक अर्ब ४९ करोड बजेट स्वीकृत र ग्रेस लिष्टमा रहेका विद्यार्थीलाई दीक्षित गर्ने प्रस्ताव रहेको बताए । रासस