रास्वपा पहिलो महाधिवेशन :सुरक्षा व्यवस्थामा कडाइ,१ हजार बढी प्रहरी परिचालन


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जनपद प्रहरी परिचालन गरिने भएको छ ।

भोलि असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने महाविधेशनको सुरक्षालाई मध्यनजर गरेर उच्च सुरक्षा व्यवस्था अपनाउन लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिने बताए। उनले महाधिवेशनको खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाइको जानकारी दिए ।

उनका अनुसार सडकमा ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी परिचालन हुनेछ । महाधिवेशन अवधिमा ठूलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई असहजता नहोस् भनेर विभिन्न ठाँउमा सवारी साधनहरु राख्न प्रबन्ध गरिएको छ ।

रास्वपाको बन्दसत्रमा करिब तीन हजार ५०० देखि चार हजार प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा ४० हजार जना स्वतस्र्फूत रुपमा सहभागी हुने अपेक्षा रास्वपाले गरेको छ ।

आवश्यकताका आधारमा सुरक्षाका चारवटै निकायलाई परिचालन गर्नेसम्मकाे तयारी रहेकाे स्राेतले जनाएकाे छ ।