काठमाडौँ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहले जनताको लागि काम गरिदिए पुग्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित सत्य संवाद मिडिया प्रालीको दोस्रो वार्षिक साधारणसभामा प्रमुख अतिथिको रूपमा उपस्थित धमलाले देश बनाउन भाषणभन्दा कामको आवस्यकता रहेकोे बताए । `प्रधानमन्त्री बालेन शाहले बोल्नुपर्दैन, काम गरिदिए पुग्छ । भ्रष्टाचारीलाई थुनिदिए हुन्छ, भ्रष्टाचार हुन नदिए पुग्छ,´ उनलेे भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले पछिल्लो समय युवा पुस्ता (जेनजी) ले देशमा ल्याएको चेतना र आन्दोलनको खुलेर प्रशंसा गरे। गत भदौमा २३-२४ मा भएको जेनजी आन्दोलन व्यवस्थाविरोधी नभएको उल्लेख गर्दै उनले भने,`जेनजी आन्दोलन व्यवस्था फाल्न नभएर अवस्था परिवर्तन गर्न भएको थियो । र संविधान फाल्न होइन, जोगाउन भएको हो ।´
उनले युवाहरूनै देशको भविष्य भएकोले सरकारले उनीहरूलाई विदेश पलायन हुनबाट रोक्न देशमै पर्याप्त रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

आफू नेतृत्वको स्वतन्त्र नागरिक अभियानले सरकारको विरोध नभई गलत कदमहरूमाथि खबरदारी गर्ने उनको भनाइ छ ।
त्यस्तै आगामी स्थानीय तहको निर्वाचन निर्दलिय हुनुपर्ने आफ्नो मागलाई पुनः दोहोर्याउँदै भने, `आगामी स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्छ । स्थानीय तहमा सक्षम, योग्य र इमानदार व्यक्तित्व उम्मेदवार बन्नुपर्छ र जनताले त्यस्तै व्यक्तिलाई जिताउनुपर्छ ।´

सत्य संवाद मिडिया प्रालीको दोस्रो वार्षिक साधारणसभामा सञ्चारकर्मी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।



प्रतिक्रिया