प्रहरीको ‘स्वीप अपरेसन’ : एकैदिन ९८ जना पक्राउ



काठमाडौं । काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका निम्ति प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् । यही असोज २६ देखि २७ गते बिहान ६ः०० बजेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको परिसर काठमाडौंका प्रवक्ता एवं एसपी दानबहादुर थापाले जानकारी दिए ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका सवारीसाधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, होहल्ला तथा हुलहुज्जत, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुन्डागर्दीजस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिलक्षित गरी अभियान सञ्चालन गरिएको उनले बताए ।

विभिन्न मुद्दामा अदालतबाट दण्ड तथा सजाय तोकिएका नौ कसुरदार र चालु मुद्दामा फरार रहेका सात प्रतिवादी समेत पक्राउ परेका उनले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । रासस