काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी स्थापना गर्दाको सङ्घर्ष सम्झिँदै भावुक भएका छन्।
केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोगमा पार्टी दर्ताका लागि आवश्यक नागरिकता सङ्कलन गर्न परेकाे सकसलाई पनि स्मरण गरे।
बैठकमा लामिछानेले राखेकाे भनाइ जस्ताको त्यस्तै
केन्द्रीय समितिको बैठकमा यो सुन्दर आकांक्षा बोकेका, रहर बोकेका, हुटहुटी बोकेका, देश प्रेमले ओतप्रोत यी अनुहारहरू मेरो अगाडि छन् । म तपाईहरू सबैलाई फेरि पनि निर्वाचित भइसकेपछि पनि देख्न, हेर्न, कुराकानी गर्न चाहन्छु । म सबैभन्दा पहिला यहाँहरू सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।
अर्को महत्त्वपूर्ण कुरा पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्यै धेरै महत्त्वपूर्ण कुरा हो । आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउनका निमित्त सभापतिका रुपमा, संस्थापक सभापतिका रुपमा कति भूमिका निर्वाह गर्न सकियो सकिएन, त्यो यहाँहरूले मूल्यांकन गर्नुभएको विषय होला । तर मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र यो कुनै सम्झौता गर्ने विषय होइन । मैले त्यसमा कहिल्यै पनि सम्झौता नगर्ने वचनबद्धता प्रकट गरेको छु र म त्यसमा खरो उत्रिने प्रयास आफ्नो राजनीतिक जीवनभरि गरिरहनेछु ।
म बिदा हुनुअघि केन्द्रीय समितिलाई बैठक सुरु हुनु अगाडि र भोलि आउने केन्द्रीय समितिलाई यो संघारमा उभिएर म यहाँहरूलाई यति भन्न चाहन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ । हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ र हिजोको त्याग र बलिदानीको उचाइको काँधमा उभिएको हुनाले पश्चाताप होइन हामीलाई झनै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ ।
त्यसैले म तपाईहरूलाई प्रतिबद्धताका साथ फेरि पनि भन्न चाहन्छु कि यी मूल्य र मान्यताहरू र लोकतन्त्र प्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुनेछैनौँ, म कहिल्यै विमुख हुनेछैन । म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु ।’



प्रतिक्रिया