काठमाडौं । नेपाल फ्युचर फोरम २०२६ मा बोल्दै जेनजी अगुवा रवि किरण हमाल ले नेपालको नयाँ पुस्ता कुनै व्यक्ति, शक्ति वा स्थापित संरचनासँग नडराउने र परिवर्तनको नेतृत्व गर्न तयार रहेको बताएका छन्।
उनले लोकप्रिय व्यक्तित्वहरूसँग डराउने होइन, विचार, क्षमता र कार्यसम्पादनका आधारमा प्रतिस्पर्धा गर्न सिक्नुपर्ने धारणा राख्दै भने, “बालेनसँग नडराउनु, प्रतिस्पर्धा गर्न सिक्नुपर्छ। नेपालको नयाँ पुस्ता कसैसँग नडराउने पुस्ता हो।”
हमालले मुलुकको विकासका लागि सार्वजनिक संस्थाहरूको व्यापक पुनर्संरचना आवश्यक रहेको उल्लेख गर्दै राज्यका निकायहरूलाई थप उत्तरदायी, प्रभावकारी र नागरिकमुखी बनाउनुपर्ने बताए। उनका अनुसार पुराना संरचनाले आजको पुस्ताको आकांक्षा सम्बोधन गर्न नसक्ने भएकाले संस्थागत सुधार अपरिहार्य छ।
उनले विगतका जनआन्दोलन र परिवर्तनका आन्दोलनहरूले बोकेको भावना, मूल्य र उद्देश्यलाई आत्मसात गर्दै लोकतन्त्रलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। “आन्दोलन केवल इतिहास होइन, त्यसले बोकेको परिवर्तनको चेतना र जनअपेक्षालाई व्यवहारमा उतार्न सक्नुपर्छ,” उनले भने।
नेपालको भविष्य, सुशासन, आर्थिक अवसर, युवा नेतृत्व र नीतिगत सुधारबारे केन्द्रित नेपाल फ्युचर फोरममा विभिन्न राजनीतिक दलका युवा नेता, नीति निर्माता, अर्थविद्, प्रविधिविज्ञ तथा जेनजी पुस्ताका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



प्रतिक्रिया